• काठमाडौँ । संसदीय समितिले वीरगञ्जमा रहेको जगदम्बा स्टिलमा नेपाली कामदार कम रहेको भन्दै आगामी दिनमा नेपाली कामदारको सङ्ख्या बढाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मातहतको उपसमितिले वीरगञ्ज औद्योगिक करिडोरमा रहेको उद्योगको स्थलगत अनुगमन गरी नेपाली कामदार कम रहेको भन्दै तत्काल नेपाली कामदार बढाउन निर्देशन दिएको हो ।

    आज समितिमा पेश गरिएको प्रतिवेदनअनुसार उद्योगमा रहेका कर्मचारी तथा कामदारमध्ये ५८ प्रतिशतमात्र नेपाली रहेको पाइएकाले आउँदा दिनमा नेपाली कामदारलाई प्राथमिकता र प्रोत्साहन दिनेगरी आवश्यक कार्य गर्न उपसमितिले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रको सञ्चालनमा पर्याप्त स्थानको कमी देखिएकाले थप जग्गाको व्यवस्था गर्नेतर्फ पहल गर्ने र भूमिगत भण्डारणको व्यवस्था गर्ने, उद्योगबाट गरिने कार्य अत्यन्त जोखिम र संवेदनशील रहेको हुँदा कामदारको सुरक्षाका लागि टोपी, जुत्ता र सुरक्षा कवच अनिवार्य रुपमा प्रयोग गर्नेतर्फ ध्यान दिन पनि उद्योगलाई उपसमितिले निर्देशन दिएको छ ।

    समितिले गत मङ्सिर १९ देखि २१ गतेसम्म सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुमगनका क्रममा संसदीय समितिले याक ब्रुअरी, सूर्य नेपाल, जगदम्बा स्टिलमा गई उद्योगको उत्पादनको अवस्था, कर्मचारीलगायत समग्र व्यवस्थापकीय पक्षमा रहेको कार्य व्यवस्था, समस्या एवम् चुनौतीका विषयमा छलफल गरेको थियो ।

    अनुगमनका क्रममा जगदम्बा स्टिलमा ४० प्रतिशतभन्दा बढी कामदार विदेशी रहेको पाइएको थियो । नेपाली कामदारलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरेको तथा श्रमिकको जोखिमको सुरक्षालाई भने उद्योगबाट ध्यान दिइएको पाइएको थियो ।

    स्थलगत अनुगमनका आधारमा उपसमितिले प्रकाश रसाइलीको संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदन आज पेश गरेको हो । समिति सभापति श्रीवास्तवले उद्योगको समग्र अवस्थाको अध्ययनपछि केही सुरक्षात्मक विषयमा ध्यान दिन गरेको सिफारिसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने जानकारी दिनुभयो । रासस