• काठमाडौं। एक बाणिज्य बैंकका लागि प्रमुख कार्यकारी अधिकृत चाहियो भनेर पत्रिकामा सुचना छापिएको छ। बैंकको नाम नखुलाइ आवेदन मागिएपछि बैंकिङ कम्युनिटीमा चर्चा चलेको छ- कसले माग्यो सिइओ?
    अहिले नबिल, एनआइसी एसिया, मेगा र माछापुच्छ्रे बैंक प्रमुख कार्यकारी अधिकृत बिहिन छन्। केही बैंकमा प्रमुख कार्यकारी अधिकृतहरुको पदावधि सकिँदैछ पनि।
    कसले माग्यो त प्रमुख कार्यकारी अधिकृत?
    ‘आवेदन दिएरै जागिर माग्ने प्रमुख कार्यकारी अधिकृत कमै हुन्छन्’ एक बैंकरले भने, ‘अहिलेको शंका भनेको खाली रहेको चार बैंक नै हो। वा कुनै सिइओसँग रिस उठिरहेको छ भने त्यसलाई तह लगाउन पनि आवेदन माग गरिएको हुनसक्छ।’
    ‘जिमेल आइडी क्रिएट’ गरेर आवेदन माग गरिएकाले तीन सरकारी बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआइ, एभरेष्ट, हिमालयन, नेपाल इन्भेष्टमेन्ट बैंकलाई शंका कमैले गरेका छन्।
    धेरैको शंका अहिले एनआइसी एसियातिर सरेको छ। आवेदन दिनेका लागि शर्त राखिएको- कम्तिमा १० बर्ष अधिकृतस्तरमा बैंकमा काम गरेको अनुभव हुनु पर्छ। त्यसैले धेरै लामो अनुभव भएको पुराना बैंकर मागिएको छैन। यसअघि यस्तै बेनामी विज्ञापनमाफर्त डेपुटी सिइओ माग्दा २० बर्षको अनुभव खोजिएको थियो।
    विज्ञापनको आशय अनुसार, खाली रहेका पुराना बैंकरहरु अनिल ज्ञवाली, शशिन जोशी, उपेन्द्र पौडेल, सुमन जोशी, किशोर महर्जन, अजय श्रेष्ठहरुका लागि यो जागिर होइन। भर्खरै राजिनामा गरेर बाहिरिएका निरज श्रेष्ठहरुका लागि पनि होइन। किनभने अनुभव एकदमै छोटो राखिएको छ।
    सेञ्चुरी बैंकले नयाँ बर्षदेखि लागू हुने गरी तुलसीराम गौतमलाई प्रमुख कार्यकारी अधिकृत बनाइसकेको छ। नबिल बैंकमा अनिल शाहलाई नै प्रमुख कार्यकारी अधिकृत बनाउने गरि डेपुटी सिइओको रुपमा भित्र्याइएकाले त्यहाँ पनि सम्भावना कम छ।
    मेगा बैंकमा अनुपमा खुँजेलीकै सम्भावना बलियो छ। विज्ञापनै गरेर मेगाले अर्को सिइओ पक्कै नमाग्ला भनेर अनुमान गर्न सकिन्छ। एनआइसी एसिया र माछापुच्छ्रे बैंक बाँकी छ। माछापुच्छ्रेले तीन जनासँग कुराकानी गरिरहेको बताइएको छ। त्यसैले विज्ञापन गरेर सिइओ नियुक्त नगर्ला भन्ने अनुमान गर्न सकिन्छ। एनआइसी एसिया बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने बढुवा गरिएका छन्। प्रमुख कार्यकारी अधिकृत खाली रहेकाले उनलाई सहायक सिइओबाट पूर्ण सिइओमा नियुक्त गर्न बैंक स्वतन्त्र थियो। त्यसैले अधिकांस बैंकको आशंका एनआइसी एसिया बैंकमा छ।
    आवेदन दिने समय एक महिनाभन्दा बढि रहेकाले कसैले त्यसपछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेमा पक्कै थाहा हुने नै छ।