• काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई यसअघि घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

    आयोगका अनुसार अनुसन्धानका क्रममा दुवै जनाले आफ्नो पद र ओहदाको दुरुपयोग गर्दै आपसी मिलेमतो र पूर्वयोजनाअनुसार सेवाग्राहीको सामान विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गरेर ९ हजार ५०० रुपैयाँ घुस लिएको पुष्टि भएको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सोही कसुरमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।