• काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहले आफ्नो सचिवालयको कार्य संरचनामा हेरफेर गर्दै विज्ञका रूपमा रहेका पदहरूलाई संयोजक र उपसंयोजकमा रूपान्तरण गरेका छन्।

    कार्यसम्पादनको समीक्षापछि प्रधानमन्त्री शाहले सचिवालयमा पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी तोकेका हुन्।

    संयोजक पद पाउने सहसचिव सरह नियुक्ति पाएका र सहसंयोजक जिम्मेवारी पाउने उपसचिव सरह नियुक्ति पाएका हुन्।

    प्रधानमन्त्री शाहले पाँच जना सहसचिव सरह सेवा सुविधा पाउने गरी नियुक्त गरेका छन् । उनीहरू संयोजक बनेका छन् । प्रेस तथा अनुसन्धान विज्ञ रहेकी दिपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक, विकास परियोजना हेर्दै आएका सञ्जीव पाण्डे विकास तथा मन्त्रालयगत समन्वय संयोजक र कार्यक्रम तथा भ्रमण संयोजक रहेका सन्तोष गिरी अन्तर निकाय समन्वय संयोजक तोकिएका छन्।

    सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ । विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजक बनाइएको छ ।

    उपसचिव सरह सेवा सुविधा पाउने गरी नियुक्त भएकाहरू सहसंयोजक बनेका छन् । उपसचिव सरहको सेवा सुविधा पाउने गरी पाँच जना नियुक्त भएका छन् ।

    सुमन गौतम नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओली नीति मस्यौदा अध्ययन उपसंयोजक तोकिएका छन् ।

    सल्लाहकारमा भने फेरबदल गरिएको छैन । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार ९बेन० र स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कायम छन्। दुवै जना मन्त्री सरहका भए पनि अवैतनिक सल्लाहकार हुन्। त्यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह यथावत् छन् ।

    राज्यमन्त्री सरहको सल्लाहकारमा सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि छन् । प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारी नै कार्यरत छन् ।