• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

    राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्याय परिषद्को सिफारिशमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।

    यसअघि संसदीय सुनुवाइबाट अनुमोदन भएकाहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका हुन् ।

    डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।

    अब प्रधानन्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै पेशी तोक्नेछन् ।