

-
काठमाडौं : रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि मस्कोलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउन र उसको युद्ध खर्च जुटाउने आर्थिक स्रोत कमजोर पार्न अमेरिकाले उल्लेख्य कदम चालेको थियो ।
अमेरिकाले रुसी तेल तथा अन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने रुसको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमाथिको पहुँच सीमित गर्नुका साथै तेल बिक्रीमा मूल्य सीमा तोक्ने रणनीति अघि सारेको थियो ।
तर चार वर्षपछि अमेरिकी नीतिमा नाटकीय परिवर्तन देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहमतिपछि रुसी डिजेल बोकेको एउटा ट्यांकर अमेरिकी तटतर्फ अघि बढिरहेको छ ।
माल्टाको झन्डा बोकेको मध्यम आकारको ट्यांकर ‘एगियोई फानेन्देस’मा तीन लाख ब्यारेल रुसी डिजेल रहेको छ । सन् २०२६ मा रुसी इन्धन बोकेको यो ट्यांकर अमेरिकी बजारतर्फ जानुलाई वासिङ्टनको मस्कोप्रतिको नीतिमा आएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ ।
युक्रेनमा युद्ध जारी रहेकै अवस्थामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यापारिक सम्झौता गर्ने र रुसमाथिका प्रतिबन्ध खुकुलो पार्ने इच्छा देखाएका छन् । यसले रुसलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने अमेरिका र पश्चिमी मुलुकको वर्षौंदेखिको प्रयास कमजोर बनाएको विश्लेषण गरिएको छ ।
सन् २०२२ को सुरुवातमा अमेरिकामा रुसी तेलको एक थोपा पनि प्रवेश नगराउने बलियो राजनीतिक र व्यावसायिक सहमति रहेको तत्कालीन अमेरिकी अर्थ मन्त्रालयका सहायक सचिव बेन ह्यारिसले बताएका छन् । त्यसबेला अमेरिकी सरकार मात्र होइन, निजी क्षेत्रसमेत रुसी तेलबाट टाढा रहन चाहन्थ्यो ।
तर अहिले ट्रम्पको कदमले रुसमाथि प्रतिबन्ध लगाउनुको कुनै विशेष अर्थ नरहेको र युक्रेन युद्ध अन्त्य गर्न प्रतिबन्ध प्रभावकारी माध्यम नभएको सन्देश दिएको ह्यारिसको भनाइ छ । उनी अहिले ब्रुकिङ्स इन्स्टिच्युसनमा उपाध्यक्ष तथा आर्थिक अध्ययन निर्देशक छन् । उनले ट्रम्पले रुसी आक्रमणलाई समस्याका रूपमा हेरेका छन् कि छैनन् भन्नेमा समेत प्रश्न उठाएका छन् ।
इन्धनको मूल्य घटाउने तर्क, तर प्रभाव न्यून
अमेरिकाले रुसी डिजेल आयात गर्ने निर्णय मध्यावधि निर्वाचनको केही साताअघि गरेको हो । अमेरिकामा इन्धनको मूल्य तीव्र रूपमा बढिरहेका बेला यो निर्णय गरिएको थियो । डिजेलको मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको छ । इरान युद्धअघि यसको राष्ट्रिय औसत मूल्य ३.७६ डलर थियो । त्यस्तै, पेट्रोलको औसत मूल्य पनि एक वर्षअघिको तीन डलरबाट बढेर चार डलरभन्दा माथि पुगेको छ ।
ट्रम्प प्रशासनले रुसी डिजेल आयातले अमेरिकी उपभोक्तालाई राहत दिने दाबी गरेको छ । तर यसले इन्धनको मूल्यमा उल्लेख्य प्रभाव पार्ने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार एगियोई फानेन्देसमा रहेको तीन लाख ब्यारेल डिजेल अमेरिकी यातायात क्षेत्रले एक दिनमा खपत गर्ने इन्धनको करिब १० प्रतिशत मात्र हो । रुसले प्रस्ताव गरेको २२ लाख ब्यारेल डिजेलसमेत सबै आयात गरिए पनि त्यसले अमेरिकाको एक दिनको आवश्यकता पूरा गर्न सक्दैन ।
रुससँग थप व्यापारिक सम्झौताको तयारी
डिजेल आयातको सम्झौता अमेरिका र रुसबीच आगामी दिनमा थप व्यापारिक कारोबारको सुरुवात हुन सक्ने अनुमान गरिएको छ । सम्भावित सम्झौतामा अमेरिका–रुस संयुक्त डेटा सेन्टर परियोजनादेखि आर्कटिक क्षेत्रमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनका संयुक्त परियोजनासम्म रहेका छन् ।
युक्रेनमा युद्धविरामसमेत नभएको अवस्थामा यस्ता सम्झौताको तयारी हुनुले पश्चिमी प्रतिबन्ध नीतिमा ठूलो परिवर्तनको संकेत गरेको विज्ञहरू बताउँछन् ।
डिजेल सम्झौता नयाँ नीतिको पहिलो संकेत हुन सक्छ । यसले भविष्यमा अमेरिका–रुस सम्बन्ध कतातर्फ जान्छ भन्ने विषयमा धेरैलाई चिन्तित बनाएको छ ।
यसैबीच, रुसी तेल कम्पनी लुकोइलको अन्तर्राष्ट्रिय सम्पत्ति खरिद गर्न अमेरिकी लगानीकर्तासमेत संलग्न समूहले सम्झौता गर्ने तयारी गरेको छ । आगामी केही साताभित्र यसबारे निर्णय हुन सक्ने रोयटर्सले जनाएको छ ।
ट्रम्प प्रशासनले पुटिनको निकट समूहको आर्थिक स्रोतका रूपमा हेरिएको रुसको बहुअर्ब डलरको सार्वभौम सम्पत्ति कोषमाथिको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल गरेको छ । बाइडेन प्रशासनले युक्रेनमाथि रुसको पूर्णस्तरको आक्रमणपछि उक्त कोषमाथि प्रतिबन्ध लगाएको थियो ।
ट्रम्प प्रशासनका एक अधिकारीका अनुसार अमेरिका–रुस सम्बन्ध सुधार्ने र युद्ध अन्त्य गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतिबन्ध खुकुलो पार्ने विषयमा सामान्य प्रक्रिया अघि बढाइएको छ ।
निजी क्षेत्रको असहमति, कानुनी विवादको जोखिम
ट्रम्पको रुसी इन्धन आयात गर्ने निर्णयले अमेरिकाभित्रै राजनीतिक विवाद सिर्जना गरेको छ । न्युजर्सीकी डेमोक्र्याटिक गभर्नर मिकी सेरिलले रुसी डिजेल आयात गर्नु संघीय कानुनविपरीत हुन सक्ने भन्दै राज्यका बन्दरगाह तथा टर्मिनल सञ्चालकहरूलाई चेतावनी दिएकी छन् । यस्तो कारोबारमा संलग्न भए नागरिक तथा आपराधिक दुवै प्रकारका कानुनी कारबाही हुन सक्ने उनको भनाइ छ ।
उनले ट्रम्पले अमेरिकी नागरिकको हितभन्दा पुटिनलाई सहयोग गर्ने नीति अपनाएको आरोप लगाएकी छन् ।
उता, रुसबाट डिजेल बोकेर अमेरिका आउँदै गरेका अन्य दुई प्रतिबन्धित ट्यांकर भने अमेरिकी खरिदकर्ताहरू कानुनी परिणामको डरले पछि हटेपछि आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य भएका छन् ।
कमोडिटी अनुसन्धान संस्था केप्लरका निर्देशक म्याट स्मिथका अनुसार एगियोई फानेन्देस अझै अमेरिकातर्फ नै अघि बढिरहेको छ । तर पछिल्ला दिनमा यसको गति सुस्त भएको छ । त्यसैले उक्त डिजेल अमेरिकी बन्दरगाहमा अनलोड हुने निश्चित छैन ।
ट्रम्प प्रशासनले भने ट्रम्प र पुटिनबीच भएको सहमतिअनुसार रुसी डिजेल अमेरिकी बजारतर्फ आइरहेको र यसले इन्धनको मूल्य घटाउन सहयोग गर्ने दाबी गरेको छ ।
तर ब्रुकिङ्सका ह्यारिसका अनुसार निजी क्षेत्र रुसी डिजेल खरिद गर्न अझै इच्छुक देखिएको छैन । ‘रुसी डिजेलको खरिदकर्ता भेट्टाउन सकिँदैन । निजी क्षेत्रको नैतिकताको स्तर ह्वाइट हाउसको भन्दा फरक देखिएको छ,’ उनले भनेका छन् ।
News Desk 0 response सोमवार, कार्तिक २४, २०८३

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


