• काठमाडौं : अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहितका प्रदेशको केही ठाउँमा पानी परिरहेको छ ।

    देशका सबैजसो ठाउँमा बदली भएकोमा केही ठाउँमा वर्षा भएको हो । यसैबीच बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ । मौसमविद्हरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भई नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ ।

    मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहीबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुनेछ । विशेष गरी असोज ९ गते अर्थात् पर्सी शुक्रबारदेखि ११ गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ । यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी असर पर्ने अनुमान गरिएको छ ।

    उच्च हिमाली भेगमा हिमआँधी र हिमपातको सम्भावना छ भने तराई र पहाडी क्षेत्रमा बाढी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ । विज्ञहरूका अनुसार पहिले नै जमिन भिजेको अवस्थामा २४ घण्टाभित्र १०० देखि १५० मिलिमिटरसम्म वर्षा हुँदा पनि पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम उच्च रहन्छ ।

    त्यसैले असोज ९ देखि ११ गतेसम्म यात्रा गर्दा सतर्कता अपनाउन र नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्नेहरूलाई विशेष सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

    यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भोलि (बिहीबार)देखि असोज १२ गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आव्हान गरेको छ । महासङ्घले आज विज्ञप्ति निकालेर यात्रु गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन र अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।