• काठमाडौँ ।
    अहिले अर्थमन्त्री छन्, स्वर्णिम वाग्ले । उनले आफ्ना वरपर अनेकौँ नियुक्ति गरेका छन् । सल्लाहकारदेखि पत्रकारसम्म उनका आसेपासे छन् । अहिले अर्थ मन्त्रालयमा हुने नियुक्तिदेखि सरुवा–बढुवामा पनि उनै हावी छन् । त्यसकारण यहाँका कर्मचारी पनि वाक्क छन् ।

    यसरी नियुक्ति र सरुवामा पत्रकारको रूपमा भित्रिएका नवीन ढुंगाना हावी छन् । आर्थिक पत्रकारिता गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा चन्दा सङ्कलन गरेर अनलाइन चलाउँदै आएका ढुंगानाले अर्थ मन्त्रालयमा आतङ्क नै सिर्जना गरेको कर्मचारीहरू बताउँछन् ।

    हरेक निर्णयमा रास्वपा अध्यक्ष रवि लामिछानेको हवाला दिएर पुँजी सङ्कलन गरिरहेका ढुंगानाले केही नलागे अनलाइनलाई सहयोग गर्नुपर्ने सर्त अघि सार्ने गरेका छन् । बीमादेखि नेप्सेदेखि अन्य नियुक्तिमा पनि उनको दबाब रहने गरेको छ ।

    ‘अध्यक्षले पठाएको मान्छे हुन्, मिलाएर गर्नुस् है’ भन्दै अर्थमन्त्री वाग्लेले पनि कर्मचारीहरूसामु निरीहता प्रकट गर्ने गरेको ती कर्मचारीहरू बताउँछन् ।

    त्यसो त भन्सारलगायत रकम आउने ठाउँमा सरुवा गर्नमै उनीहरूको ध्यान हुने गरेको छ । एक जना सुब्बा सरुवा गर्दा पाँचदेखि दस लाखसम्म कबोल हुने गरेको छ । केही कर्मचारीलाई त ढुंगानाले माथिसम्मै बुझाउनुपर्ने भएकाले कुरा बुझ्न आग्रह गरेको एक सहसचिवले बताए ।