• काठमाडौं : चीनले आफ्नो भूभागमा पानीको बहाव बढ्ने बित्तिकै नेपाललाई जानकारी दिने भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग र चिनियाँ उच्च अधिकारीहरूबीचको छलफलमा चीनले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।

    विभागका अनुसार छलफलमा चिनियाँ दूतावासका प्रतिनिधि र चिनियाँ मेट्रोलोजिकल एजेन्सी ९सिएमए० का अधिकारी संलग्न थिए ।

    छलफलका क्रममा चीनतिरको भू–भागमा ठूलो पानी नपरेको र वर्षाका कारण बाढी नआएको चिनियाँ पक्षले बताएको छ ।
    विभागले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा आज राति धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना समेत औँल्याएको छ ।

    केही ठाउँमा भारी वर्षाको संभावना रहेको बताउँदै खोज तथा उद्धारमा आवश्यक सावधानी अपनाउन विभागले सजग गराएको छ ।