• चीनले आफ्नो अन्तरिक्ष कार्यक्रममा ठूलो सफलता हासिल गर्दै पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ ।

    ‘लङ मार्च टेन–बी’ रकेट आज स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे दक्षिण चीनको हाइनानबाट प्रक्षेपण भएको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    रकेटको माथिल्लो भागबाट छुट्टिएको झन्डै ६ मिनेटपछि यसको ‘बुस्टर’ ठाडो रूपमा पृथ्वीमा फर्किएको र एउटा तैरिरहेको प्लेटफर्ममा सुरक्षित रूपमा उतारिएको खबरमा उल्लेख छ ।

    यसले एलन मस्कको ‘स्पेसएक्स’ र ‘अमेजन’ का संस्थापक जेफ बेजोसको स्वामित्वमा रहेको ‘ब्लू ओरिजिन’ को सफल अवतरणपछि चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटहरूमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिन सक्षम हुन सक्ने सङ्केत गर्छ ।

    रकेटहरूलाई सामान्यतया खर्चयोग्य मानिन्छ – आरोहणका क्रममा तिनीहरूका विभिन्न खण्डहरू खारेज र नष्ट गरिन्छ – जसले गर्दा अन्तरिक्षयान प्रक्षेपण महँगो हुन्छ ।

    रकेटको सबैभन्दा बहुमूल्य भाग मानिने ‘बुस्टर’ हरूको पुनः प्रयोग गरेर स्याटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिन्छ ।

    सन् २०१५ को डिसेम्बरमा स्पेसएक्सले पहिलो पटक कक्षीय उडानबाट पुनः प्रयोग गर्न मिल्ने ‘फाल्कन नाइन’ रकेट अवतरण गरेको थियो । त्यसपछि २०२५ नोभेम्बरमा ब्लू ओरिजिनको ‘न्यू ग्लेन’ अवतरण गरेको थियो ।

    कम उचाइको पृथ्वीको कक्षसम्म कम्तीमा १६ मेट्रिक टन भार बोक्न सक्ने ‘लङ मार्च टेन–बी’ को तुलना स्पेसएक्सको ‘फाल्कन नाइन’ सँग गरिएको छ ।

    तर ’लङ मार्च टेन बी’ जमिनको प्याड वा ड्रोन जहाजमा स्वचालित रूपमा अवतरण गर्दैन । यसले रकेटमा रहेका ‘ल्यान्डिङ हुक’ हरूले तैरिरहेको प्लेटफर्ममा जडान गरिएको जालीको सहायता लिन्छ ।