• काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाईका ’अदृश्य नायक’लाई सम्मान गरिएको छ ।

    रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवम् पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा आज आयोजित कार्यक्रममा बुढानिकण्ठ क्षेत्रमा कार्यरत ३० सफाईकर्मीलाई सम्मान गरिएको हो । विश्व वातावरण दिवस–२०२६ को अवसर पारेर ‘सफाइकर्मीलाई सम्मान, सबैको मान’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा पूर्वराजदूत बलबहादुर कुँवरले सामाजिक उपेक्षा र अदृश्यताको सामाना गरिरहेका सफाईकर्मीलाई राज्यले सम्मान गर्नुपर्ने बताए। समाज, वातावरण र जनस्वास्थ्यलाई दैनिक रूपमा स्वच्छ र सुरक्षित राख्न सफाईकर्मीको योगदान महत्वपूर्ण रहेको उनले बताए। श्रमको सम्मान र मानवीय गरिमालाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्ने उनको भनाई थियो ।

    बुढानिलकण्ठ नगरपालिका–३ का वडाअध्यक्ष आकाश धितालले स्थानीय सङ्घ संस्थासँग मिलेर बुढानिलकण्ठ नगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको उल्लेख गरे । उनले बुढानिलकण्ठलाई सुन्दरता बनाउनका लागि ईसिआई नेपालले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे।

    वातावरणविद् डा जयकुमार गुरुङले स्वच्छ वातावरण निर्माणमा सफाईकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। घर–टोलबाट उत्पादित फोहोरमैला केही दिन मात्र सङ्कलन नहुँदा जनजीवन अस्तव्यस्त बन्ने र त्यही फोहर व्यवस्थापन गर्ने श्रमिकलाई भने समाजले अझै पनि तल्लो दृष्टिले हेर्ने गरेको पाईन्छ ।

    राष्ट्रिय समाचार समिति ९रासस०का बोड सदस्य कृष्ण अधिकारी, इसिआई नेपालका अध्यक्ष सविन वाग्ले, रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठकी अध्यक्ष सुचना गुरुङलगायतले पर्याप्त सुरक्षा सामग्री र तालिमको अभावमा जोखिमपूर्ण ढङ्गले काम गर्नुपर्ने बाध्यताका बीच सफाईकर्मीले समाजलाई स्वस्थ राखिरहेको भन्दै उनीहरुको कामको उच्च प्रशंसा गरे।