• तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । पृथ्वी राजमार्गको खैरेनीटारबाट करिब २ किलोमिटर दूरीमा रहेको यो क्षेत्र आन्तरिक पर्यटकको मुख्य रोजाइमा परेको हो । स्थानीयका अनुसार यहाँ अहिले मासिक औसत १० हजारभन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

    झाँगाझोली पुग्नका लागि यातायातको सहज सुविधा छ । पर्यटकहरू ट्याक्सी, टेम्पो, माइक्रोबस, मिनीबस र मोटरसाइकलमार्फत दैनिकजसो यहाँ पुग्छन् । यो क्षेत्र शैक्षिक, धार्मिक र प्राकृतिक पर्यटनको केन्द्रका रूपमा चिनिन थालेको छ । यहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी विभिन्न संरचनाहरु निर्माण गरिएका छन् ।

    यहाँको मुख्य आकर्षण गौरादेवी नेचुरल हर्बल पार्क, बुद्ध पार्क र पुष्प वाटिका हुन् । लोपोन्मुख सामग्रीहरू संकलन गरिएको ‘शशिधर प्रदर्शनीमार्ग’ संग्रहालयले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँ आउनेले सुन्दर बगैँचा र रुद्रकुण्डको अवलोकन गर्न पाउँछन् । बालबालिकाका लागि चिल्ड्रेन पार्क र युवायुवतीका लागि पिङको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकका लागि विभिन्न मठमन्दिरहरु रहेका छन् ।

    घना जंगल र हरियालीले घेरिएको झाँगाझोलीमा पर्यटकले शान्त वातावरणको आनन्द लिन सक्छन् । प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि यो ठाउँ निकै उपयुक्त छ । वनस्पति, जडीबुटी, फलफूल र चराचुरुङ्गीको अध्ययन गर्न चाहनेका लागि पनि यो उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीयले बताए । यहाँ विभिन्न नर्सरीहरु समेत सञ्चालनमा रहेका छन् ।

    रात बस्न चाहने पर्यटकका लागि झाँगाझोली भिलेज रिसोर्टले आवासको व्यवस्था गरेको छ । हाल यो रिसोर्टले १० वटा कोठामार्फत सेवा दिइरहेको छ । रिसोर्टमा लोकल कुखुरा, माछा र कालिज जस्ता स्थानीय परिकारहरु खान पाइन्छ । पारिवारिक वातावरणमा रात बिताउन पाउनु यहाँको अर्को विशेषता रहेको पर्यटन प्रवर्द्धकहरुले बताए । ‘पारिवारिक वातावरणमा रात्रीकालीन बसाइले पर्यटकलाई अविस्मरणीय अनुभूति दिलाउने गरेको छ,’ उनीहरुले भने ।

    यस क्षेत्रलाई नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय तह, पर्यटन व्यवसायी र समुदाय सक्रिय भएर लागेका छन् । उनीहरुकै सक्रियताले झाँगाझोलीले छोटो समयमा चर्चा कमाएको हो ।