• काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत भएका छन् । ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका ह्वाइट हाउसलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।

    यसैबीच सी र ट्रम्पबीच बेइजिङमा द ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको छ । बेइजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई विश्वको ‘सबैभन्दा महत्त्वपूर्ण’ भनेको बीबीसीले जनाएको छ । चीन–अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने उल्लेख गरे ।

    यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई ‘अत्यन्तै सकारात्मक’ भनेर प्रशंसा गरेको खबरमा उल्लेख छ । ट्रम्पले सीलाई ‘महान् नेता’ भनेर प्रशंसा गरेका छन् ।

    यसअघि झन्डै २ घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धका विषयमा छलफल भएको ह्वाइट हाउसले भनेको छ ।

    यसैबीच चिनियाँ राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द्व हुन सक्ने चेतावनी दिएका छन् । सीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने चेतावनी दिएका हुन्।