• मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका केही ठूला तेल तथा ग्यास कम्पनीहरूले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन् ।

    बेलायती तेल र ग्यास कम्पनीले ‘शेल’ ले आफ्नो नाफा सार्वजनिक गर्दै पहिलो त्रैमासिकमा झन्डै ५।७ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । बेलायतकै ‘बीपी’ को खुद नाफा ३।८४ अर्ब डलर पुगेको छ । फ्रान्सको ‘टोटलइनर्जी’ नाफा ५।८ अर्ब डलर पुगेको खबरमा उल्लेख छ ।

    यद्दपि अमेरिकी ऊर्जा कम्पनीहरू ‘एक्शनमोबिल’ र ‘चेभ्रोन’ को नाफा घटेको देखिएको छ । विशेषज्ञहरूका अनुसार डेरिभेटिभ बजारमा समयान्तर प्रभावका कारण अमेरिकी कम्पनीहरू प्रभावित भएका हुन् ।

    मध्यपूर्व युद्धका कारण इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेको छ । यसले मूल्य तीव्र रूपमा बढाएको छ ।

    विश्लेषकहरूका अनुसार युरोपेली कम्पनीहरू विशेषगरी लाभान्वित भएका छन् किनभने उनीहरूको व्यापारिक गतिविधि बलियो छ जसले बजारको उतारचढावबाट अतिरिक्त लाभ लिन सक्षम बनाएको छ ।

    उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढेको छ । यसअघि युक्रेन युद्धपछि पनि यस्तै ‘विन्डफल कर’ लागू भएको थियो ।

    बेलायतमा तेल कम्पनीहरू अहिले पनि नर्थ सी क्षेत्रको नाफामा ३८ प्रतिशत अतिरिक्त कर तिर्छन् जुन सामान्य ४० प्रतिशत करसँगै लागू हुन्छ । तर यो कर केवल घरेलु उत्पादनमा मात्र सीमित छ । अब त्यही करलाई विस्तार गर्नुपर्ने माग बढिरहेको छ ।

    विश्लेषकहरूका अनुसार दोस्रो त्रैमासिकमा पनि कम्पनीहरूको नाफा बलियो रहने सम्भावना छ, किनभने बजार तुरुन्तै सामान्य अवस्थामा फर्कने देखिँदैन ।