• काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ ।

    लामो समयदेखि चर्चामा रहेको यो निर्णय यही मे १ तारिख अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको छ । युएईको यो घोषणाले क्षेत्रीय शक्ति सन्तुलन र तेल बजार दुवैमा असर पार्ने सङ्केत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

    सरकारी समाचार एजेन्सीमार्फत सार्वजनिक गरिएको घोषणामा युएईले आफ्नो दीर्घकालीन रणनीतिक र आर्थिक प्राथमिकताअनुसार पछिल्लो कदम चालिएको उल्लेख गरेको छ । युएईले ओपेकबाट बाहिरिएपछि पनि जिम्मेवार ऊर्जा उत्पादकका रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

    सन् १९६७ मा अबुधाबीमार्फत पहिलो पटक ओपेकमा प्रवेश गरेको युएईले सन् १९७१ मा स्वतन्त्र राष्ट्र बनेपछि पनि सङ्गठनमा आफ्नो सदस्यता कायम राख्दै आएको थियो ।

    विशेष गरी छिमेकी साउदी अरबसँगको सम्बन्ध पछिल्ला वर्षहरूमा चिसिँदै गएको सन्दर्भमा यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।