• इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो ।

    इजरायल र लेबनानबिच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग ‘ऐतिहासिक सम्झौताका लागि’ यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ। उक्त लडाकु समूहले लेबनानको भूमिमा आक्रमण रोक्ने र इजरेली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ ।

    नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, ुयो निकै छिट्टै नै अन्त्य हुनु पर्छ ।ु उनले यसबारे थप व्याख्या नगरी युद्ध राम्रोसँग अघि बढिरहेको बताए । ट्रम्पले युद्धमा अमेरिकी सेनाको भूमिकाको पनि प्रशंसा गरे ।

    गत सप्ताहान्तमा अमेरिका र इरानबिच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो। यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्। ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको तर वार्ताको सम्भावना बढेको जनाएको छ ।

    इरानका विदेश मन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन्, ुलेबनानमा युद्धविरामको अनुरूप, अमेरिका–इरानबिचको युद्धविरामको बाँकी अवधिको लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग पूर्ण रूपमा खुला गरिएको छ।ु उनले लेबनान र इजरायलबिच मध्यरातदेखि लागु भएको १० दिने युद्धविरामको कुरा गरेका हुन् वा अप्रिल ८ मा इरान र संयुक्त राज्य अमेरिकाबिच सुरु भएको दुई हप्ताको युद्धविरामबारे कुरा गर्नुभएको हो भन्ने भने उनको पोस्टबाट प्रस्ट हुन सकेको छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ व्यावसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणाको स्वागत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘धन्यवाद, इरानले हर्मुजको साँघुरो जलमार्ग पूर्ण रूपमा खुला गरेको छ । यो सबै व्यावसायिक जहाजका लागि खुला भएको छ ।’

    मस्कोले शुक्रबार इजरायल र लेबनानबिच भएको युद्धविराम सम्झौताको समर्थन गरेको छ र १० दिने युद्धविरामले दीर्घकालीन सम्झौताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेको छ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको भेटमा भने, ‘हामी युद्धविरामको निर्णयको स्वागत गर्दछौँ र आशा गर्दछौँ कि यी केही दिनहरूमा सैन्य भिडन्तहरू दोहोरिन नदिन सम्झौतामा पुग्न सम्भव हुनेछ।

    युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । फ्रान्स, बेलायत, भारत, चीन, अमेरिकालगायत विश्व शक्ति राष्ट्रका नेताहरूले पनि सहमतिको लागि खुसी व्यक्त गरेका छन् ।