• काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने दाबी गरेका छन् ।

    अमेरिकी सञ्चारमाध्यमसँगको अन्तरवार्ताको क्रममा उनले छिट्टै इरानसँग वार्ता हुने र त्यो वार्ता पनि पाकिस्तानको इस्लामाबादमै अघि बढ्ने बताएका छन् ।

    गएको शुक्रबार इरान र अमेरिकाबीच इस्लामाबादमा २१ घण्टा लामो वार्ता भएको थियो । तर त्यो वार्ताले सहमतिका लागि कुनै ठोस निष्कर्ष निकाल्न सकेन । अमेरिकाले अत्यधिक सर्त राखेका कारण वार्ता परिणाममुखी नभएको इरानको आरोप छ ।

    वार्ता असफल भएसँगै अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किएका थिए। वार्ता असफल भएलगत्तै होर्मुजमा अमेरिकाले नाकाबन्दी थालेको छ ।