• काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बर्खास्त गरेका छन् ।

    स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विवाद सार्वजनिक भएपछि सत्ताको नेतृत्व गरेको दुई हप्तामै प्रधानमन्त्री शाहले श्रममन्त्रीलाई बर्खास्त र स्वास्थ्यमन्त्री निशा मेहतालाई चेतावनी दिएका हुन्।

    प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिशमा मन्त्री साहलाई पदमुक्त गरिएको हो । रास्वपाका सभापति रवि लामिछानेको हस्ताक्षर रहेको पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कारबाहीको सिफारिश गरिएको थियो । पार्टीको अनुशासन आयोगले अध्ययन गरेर पार्टीलाई सिफारिश गरे पनि सभापतिले प्रधानमन्त्रीलाई सिफारिश गरेका हुन्।

    महोत्तरी–२ बाट निर्वाचित दीपककुमार साहले पदीय मर्यादाको दुरुपयोग गरी लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई नियमित काम गराएको पार्टीको अनुशासन कमिटीको अध्ययनबाट देखिएको पत्रमा उल्लेख छ ।

    रास्वपाको विधानले पदको दुरुपयोग भएको अवस्थामा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएको उल्लेख गरेको छ । त्यही व्यवस्थानुसार मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिश गरिएको रास्वापाको भनाइ छ ।

    त्यसबाहेक आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री साहसमक्ष सिफारिश गरेका थिए । सिफारिशका आधारमा प्रधानमन्त्री साहले मन्त्री मेहतालाई सचेत गराइसकेका छन् ।

    स्वास्थ्यमन्त्री मेहता समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित भएकी हुन् ।