• उत्तर कोरियाको सत्तारूढ ‘वर्कस पार्टी’ ले किम जोङ उनलाई फेरि महासचिवमा चयन गरेको छ । राजधानी प्योङयाङमा चलिरहेको पार्टी महाधिवेशनको चौथो दिन उनी महासचिवमा सर्वसम्मत चयन भएका समाचार संस्था एपीले जनाएको छ ।

    पार्टीले किमको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आउँदो पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ ।

    पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने भेलाले महासचिव चयन गर्दै आएको छ । ४२ वर्षीय किमले पार्टीमा शीर्ष पद सम्हालिरहेका छन् – पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको पदमा रहँदै आएका छन् ।

    सत्तारूढ पार्टीले किम जोङ उनको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।

    भेलाले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको खबरमा उल्लेख छ । १ सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिएका छन् । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश भएका छैनन्। अन्तर–कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताएका छन्।

    विश्लेषकहरूले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आँकलन गरेका छन् । उनले विशेषतः कोभिड–१९ महामारीपछि चीनसँगको व्यापार र रुससँगको सहकार्यबाट लाभ लिने रणनीतिका बीच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।

    किमले गएको सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ६ वर्षपछि पहिलो शिखर वार्ता गरेका थिए। युक्रेन युद्धमा रुससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि अमेरिका र दक्षिण कोरियासँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।