• काठमाडौं : भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो ।

    मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएका संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो ।

    यही नामले उनी प्रसिद्ध भए। पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिका घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए । नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् ।

    भारतको प्रयागमा हुने कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रयसमेत दिने गरेका थिए । पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए । हरिद्वार र गङ्गोत्रीलगायत धेरै ठाउँमा उनले जुना अखडा नामको आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।