• काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए।

    सरकारले गएको वर्ष समितिको निर्देशन अनुसार एक वर्षका लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए । उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी–नोक्सानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए ।

    यस्तै मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत् आयोजनामा छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए । मन्त्रालयले अब वनको कारणले आयोजनाहरूको काम अगाडि बढेन भन्ने गुनासो आउन नदिने गरी काम गरिरहेको उनको भनाइ छ ।