• काठमाडौं : झण्डै डेढवर्षसम्म गाउँमा चितुवाले मान्छेलाई आक्रमण नगरेपछि केही राहात महशुस गरेका तनहुँको बन्दिपुरवासी पुनः त्रसित भएका छन् ।

    यही साउन ३ गते बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको ज्यान गएपछि गाउँमा पुनः त्रास फैलिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । डेढ वर्षदेखि गाउँमा चितुवा नदेखिएकोमा फेरि अहिले देखिएको उनले बताए।

    गाउँपालिकाले बेलुका र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराएको छ । यही साउन ३ गते १३ वर्षीय सुन्दर अछामीको ज्यान गएसँगै तनहुँमा चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षमा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ ।

    डिभिजन वन कार्यालय तनहुँकाअनुसार चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते पछि १४ जनाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका बालबालिकाको मृत्यु भएको हो ।

    चितुवासँग जोगिन बेलुका तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, झाडी सफा गर्न तथा बालबालिका र वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।