• काठमाडौं : बिहानको पहिरोका कारण कर्णाली कोरिडोर अवरुद्ध भएको छ । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो ।

    यसैगरी कर्णाली कोरिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

    यस्तै कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध भएको छ । असार २६ गते देखि आएको भारी वर्षाले ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ ।