• काठमाडौं : संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएको जानकारी गराएसँगै नयाँ सरकार गठन आब्ह्वानको पखाईमा एमाले–कांग्रेस रहेका छन् ।

    २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुखले मत परिणामसहितको जानकारी पत्र शुक्रबारै राष्ट्रपति निवास शीतल निवास पठाएका हुन् ।

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्को पत्र शीतल निवास पुगिसकेकाले अब राष्ट्रपतिको आह्वानको पर्खाइमा रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरूको समर्थन रहेको पत्र तयारी अवस्थामा रहेकाले राष्ट्रपतिले बोलाउनासाथ शीतल निवास जाने तयारी छ ।

    राष्ट्रपतिले शुक्रबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने विश्वास रहेको एमाले कांग्रेसका नेताहरूले बताएका छन् ।