• काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन्। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उनले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए ।

    त्यसपछि अल्पमतमा परेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिन लागेका हुन् । यसअघि चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल प्रधानमन्त्रीले यस पटक भने विश्वासको मत नपाउने निश्चितजस्तै छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

    विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उनी पदमुक्त हुनेछन् र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ सरकार गठनको लागि आजै दाबी पेस गर्ने कांग्रेस र एमालेको तयारी छ । माओवादी पक्षधरहरुले विश्वासको मत पाउन नसके नयाँ सरकार गठनका लागि धारा ७६ को उपधारा (३) को प्रक्रियामा जाने तर्क गर्दै आएका छन् । तर कांग्रेस र एमालेले भने संविधानको धारा ७६(२) बमोजिमकै सरकार बनाउने तयारी गरेका छन् ।