• काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले ‘मधेश प्रदेश लगानी सम्मेलन’ गर्ने घोषणा गरेका छन् ।

    मुख्यमन्त्रीको पदभार ग्रहणपछि मुख्यमन्त्री सिंहले मधेश प्रदेशका लागि दिगो विकासको योजना तयार गरी स्वदेशी वा विदेशी लगानी आकर्षण गर्न लगानी सम्मेलन गर्ने घोषणा गरे । उनले बाँझो जग्गा उपयोग, आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना, वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिका लागि सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम, रङ्गशाला निर्माण तथा खेलाडीलाई प्रोत्साहनजस्ता विभिन्न कार्यक्रम गर्ने बताएका छन् ।

    प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ बजेट चलाउन दिने पनि निर्णय गरेको छ । नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यो निर्णय गरेको मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बताए ।