• काठमाडौं : काठमाडौंको न्यूरोडमा महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले टालेको छ ।

    आज बिहान सडक डिभिजन कार्यालयले काठमाडौं महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक टालिदिन महानगरलाई पत्र पठाएको भए पनि बेवास्ता गरेपछि आफैँले टालेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले कालोपत्र गर्दै गरेको ठाउँमा नगर प्रहरी पुगेपछि केहीबेर विवादसमेत भएको थियो ।

    यसअघि सडक डिभिजन कार्यालयले महानगरलाई भत्काएको सडक दुई दिनभित्र नटाले कारबाही गर्ने चेतावनीसहित पत्र पठाएको थियो ।

    सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणसँग जोडेर आक्रोश व्यक्त गरेका हुन् ।

    यसअघि फुटपाथ विस्तार रोकिदिएपछि काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धूलो थुपारिदिएको थियो । त्यस बेला मेयर शाहले चक्रपथको प्रसङ्ग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठमाथि प्रश्न उठाएका थिए ।