• काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । गुरुङले अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

    सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। सर्वोच्चको पत्र आज मात्रै आइपुगेकोले आजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गएको सोमवार सर्वोच्च अदालतले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

    मुख्यमन्त्री नियुक्त पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन । खगराजलाई विश्वासको मत दिने बेला तटस्थ बसेको दुई सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाण्डेलाई साथ दिए पनि एक जना अझै आवश्यक पर्छ । खगराज अधिकारी नेतृत्वमा रहेको सरकारमा मन्त्री रहेका दीपक मनाङेले पनि मत दिने र विश्वासको मत पाउने कांग्रेसको भनाइ छ ।