• अमेरिकी अर्बपति एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय गाडीमा कर बढाउने निर्णयको विरोध गरेका छन् । केही हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आयात हुने विद्युतीय गाडीमा कर बढाउने घोषणा गरेका थिए ।

    फ्रान्सको पेरिसमा एक सम्मेलनका क्रममा स्याटेलाइट कम्पनी ‘स्पेसएक्स’ र विद्युतीय गाडी ‘टेस्ला’ का प्रमुखसमेत रहेका अर्बपति मस्कले न त टेस्ला न त आफूले कर बढाउनका लागि माग गरेको बताएका बीबीसीले जनाएको छ । यद्यपि जनवरीमा एलन मस्कले व्यापारमा कुनै पनि प्रकारको प्रतिबन्ध नहुँदा चिनियाँ कार निर्माताहरूले अन्य देशका आफ्ना प्रतिस्पर्धीहरूलाई ‘समाप्त’ गरिदिने चेतावनी दिएका थिए ।

    चिनियाँ विद्युतीय कार आफ्नो देशमा लोकप्रिय हुँदा आफ्नो देशमा उत्पादित कारको बजार खस्किएको भन्दै अमेरिकाले २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाउने घोषणा गरेको थियो । एलन मस्कले अमेरिकाको यो कदमले आफू हैरान भएको बताएका खबरमा उल्लेख छ । ‘चीनमा कर नलाग्दा टेस्लाले निकै राम्रो गरिरहेको छ’, उनले भने ।

    चीनले अमेरिकाको कर बढाउने घोषणाको विरोध गरेको छ । चीनले अमेरिकाको यो घोषणाको जवाफमा कदम चाल्ने बताएको छ ।