• काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा परेको छ । विवादका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरेका हुन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वोच्चको अदालतको आदेशअनुसार भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

    मुख्यमन्त्री अधिकारीले विश्वासको मतको विपक्षमा २७ मत परेको छ भने दुई जना सांसद तटस्थ बसेका छन् । तर कांग्रेसले भने सभामुखले संविधान विपरीत काम गरेको भन्दै नाराबाजी गरेको छ ।