• काठमाडौँ, २२ चैतः प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीले खानेपानीको दिगो व्यवस्थापनका लागि परम्परागत पानीको मुहानलाई पुनःजीवित गर्न आवश्यक रहेको बताएकी छिन् ।

    आज सिंहदरबारमा आयोजित ‘मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापन’सम्बन्धी अन्तरक्रियामा कार्कीले खानेपानीको दिगो व्यवस्थापन गर्न अब सुकेका पानीका मुहान पुनःजीवित गर्न पहल गर्नुपर्नेमा जोड दिइन् ।

    खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजना सुधारका लागि सरोकारवालासँग छलफल चलाइरहेको छ । मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याउन आयोजना सुधारको काम अगाडि बढाउने तयारी भएको भन्दै मन्त्रालयले आगामी पाँच वर्षमा सुधारको काम सम्पन्न हुने तथा त्यसका लागि रु चार अर्ब ५० करोड लागत लाग्ने जानकारी दिएको छ ।

    सांसद कार्कीले मेलम्ची आयोजना सुधार गर्न पाँच वर्ष लाग्ने भन्दै त्यतिञ्जेलसम्म उपत्यकाबासीलाई पानीको अभाव हुन नदिन वैकल्पिक उपायस्वरुप परम्परागत पानीको स्रोत सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

    “मेलम्ची आयोजनाबाट नियमित पानी आपूर्तिको सुनिश्चित छैन । सुधार गर्न पाँच वर्ष लाग्छ भनिएको छ । पाँच वर्षसम्म उपत्यकावासीले पानीको अभाव झेल्नुपर्ने हो ?”, उनले भनिन्, “त्यसको विकल्पमा परम्परागत पानीको स्रोतको संरक्षण गर्दै पुनःजीवित बनाउनेतर्फ ध्यान दिनुपर्छ ।”

    उनले पानीको वैकल्पिक स्रोतको पहिचान गर्नुपर्ने र राज्यले खानेपानी आयोजनाको लागि लगानी बढाउनुपर्नेमा जोड दिइन् । उनले आगामी आर्थिक वर्षको बजेटमा खानेपानी आयोजनालाई पहिलो प्रथामिकता दिन आग्रह गरेकी छिन् । “प्रशासनिक भवन बनाउन केही वर्ष ‘होल्ड’ गरेर भए पनि बजेट खानेपानी लगाउन सकिन्छ”, उनले भनिन् ।