• काठमाडौं : धादिङ, गोरखालगायतका जिल्लामा हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने धेरैजसो गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

    असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँका दिनेश तामाङले बताए। हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौलगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्‍याएर अर्को बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताए ।

    फागुनको पहिलो हप्तादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ ।

    असिनाका कारण भित्र्याउने बेला भएको गहुँ र जौ नष्ट गरेको गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले बताए । बारपाकका झन्डै एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जौ असिनापानीले नष्ट गरेको उनले बताए ।