• काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

    भोलि आइतवार पहाडी भेगमा र पर्सि सोमवार तराई भेगमा होली अर्थात फागु पूर्णिमा मनाईँदैछ । होलीमा रंग र अबीरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । तर वर्षासँगै चिसो बढेकाले यसपालिको होलीमा पानी खेलेर रमाइलो गर्नेहरुलाई असर पर्ने भएको छ । काठमाडौंसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ ।

    आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसमविद् झाले जानकारी दिनुभयो । मध्य र पूर्वी भेगमा गएको बुधबारदेखि वर्षा र बदली भइरहेको हो । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको मौसमविद्ले बताएका छन् ।