• काठमाडौं : आज जनयुद्ध दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईँदैछ । २०५१ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । अघिल्लो वर्ष जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएतापनि यसपटक भने सरकारले सार्वजनिक बिदा दिन पाएन ।

    सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरेसँगै सरकारले बिदा नदिएको हो । यद्यपी माओवादी केन्द्रले नेतृत्व गरिरहेका देशका कतिपय स्थानीय तहले भने आज बिदा दिएका छन् ।

    सर्वोच्च अदालतको आदेशलाई चुनौती दिँदै स्थानीय तहका प्रमुखले बिदा घोषणा गरेका छन् ।

    गोरखाका माओवादी नेतृत्वका पालिकाहरु गण्डकी, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा र धार्चे गाउँपालिकाले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएका छन् । यस्तै कालिकोटका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, पतला गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको सूचना जारी गरेका छन् ।

    यसैगरि रोल्पाको रोल्पा नगरपालिका र माडी गाउँपालिका, दाङको बंगलाचुली गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, धादिङको गजुरी नगरपालिका, काभ्रेको चौंरी देउराली गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन् । गृह मन्त्रालयले आज सार्वजनिक बिदा नरहेको बताएको छ ।