• काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जना युवाको मृत्यु भएको र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्दको डिजाइन भएको दाबी गरेका छन् ।

    आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताएका हुन् । उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ‘ब्रिफिङ’ लिँदा सामान्य नलागेको बताए ।

    उनले भने, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । घटनाको अर्को दिन बिहान घटनाक्रमको ‘ब्रिफिङ’ लिइयो । म अहिले सबै भन्न चाहन्न । केही कुरा गम्भीर लागेको छ । दुई जना युवाको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपीएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो गतिविधि भएको छ । घटना जस्तो देखिएको छ त्यस्तो छैन । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त होइन भन्ने अनुमान छ । त्यसै कारण यो घटनासँग सम्बन्धितलाई निलम्बन गरिएको छ र उच्चस्तरीय छानबिन आयोग बनाइएको छ । सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढङ्गले समीक्षा गरिएको छ ।’

    प्रधानमन्त्रीले मृतकका परिवारलाई रोजगारी दिने र शहीद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए । उनले नागरिकलाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारोबाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गरे।

    प्रचण्डले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारूढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अपिल गरे । उनले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सहमति भएको पनि बताए ।