• काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज समूह चरणको अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा वीरगञ्ज युनाइटेड एफसी र बुटवल लुम्बिनी एफसी दिउँसो एक बजे खेल्नेछन् ।

    वीरगञ्ज ७ खेलमा ८ अङ्कसहित तालिकाको सातौँ र बुटवल लुम्बिनी समान खेलमा ७ अङ्कसहित पुछारमा छ । त्यस्तै, बेलुका ५ बजे काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको ललितपुरको ७ खेलमा १० छ । साविक विजेता टोली काठमाडौं ७ खेलमा ९ अङ्कसहित छैटौँ स्थानमा छ ।

    गणितीय रुपमा यी चारै टोलीको प्लेअफ सम्भावना कायम छ । हिजो भएको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्सले धनगढीसँग बराबरी खेल्यो । पोखरा १५ अङ्कसहित शीर्ष र धनगढी १३ अङ्कसहित दोस्रो स्थानमा छ । यी दुई टोली प्लेअफमा पुगिसकेका छन् ।

    हिजोको अर्को खेलमा चितवनले झापालाई हरायो । हारका कारण झापालाई प्लेअफमा पुग्न कठिन छ । झापा १० अङ्कसहित चौथो स्थानमा छ । आजको खेलमा वीरगञ्ज र काठमाडौं हारेको अवस्थामा मात्रै झापाको प्लेअफ खेल्ने सम्भावना देखिन्छ ।