• काठमाडौं :चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

    उनी स्थानीय समयअनुसार ९ बजेर ४५ मिनेटमा मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी दिउँसो छेन्दु पुग्ने छन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

    त्यसपछि उनले बेलुका चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै बेलुका प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन्।

    बुधवार चीनको छोङछिङबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले बिहीवार हिजो कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि उनले बुधवार नै ल्हासामा रहेको प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए।

    प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू शनिवार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।

    उनको भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन् ।