• काठमाडौं : श्रीलङ्का ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ । आज शुक्रवार कोलम्बोमा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

    पाकिस्तानले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयो । श्रीलङ्काका अभिष्का फर्नान्डो र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनायो । पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै मोहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु समाराकून, प्रमोद मदुशन र चमिका करुनारत्नेले २–२ विकेट लिए ।

    यसैबीच प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अहिले भारत र बङ्गलादेशबीच खेल भइरहेको छ । पाकिस्तानले उपाधिका लागि यो खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल पर्सि आइतवार हुनेछ ।