• काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे अन्य दलहरूसँग छलफल गर्दै आएको जसपाले आइतवार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई छलफल सुरु गरेको हो ।

    राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए । बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो ।

    उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनावबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भइसकेको छैन । किनभने कुनै फिचर क्लियर भइसकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । सबै राजनीतिक दलसँग छलफल जारी छ ।’

    सरकारलाई समर्थन गरेको जसापाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदैछ ।