• काठमाडौं : नेपाल र भुटानवाट भारतको बाटो हुँदै बंगलादेश बिजुली लैजान भारत सहमत भएको छ । भारतले बंगलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको हो । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो ।

    बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको छलफलपछि बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले भारत आफ्नो प्रस्तावमा सहमत रहेको बताएका छन् ।
    ‘भारतीय विदेश सचिव विनय क्वात्राले नेपाल र भुटानबाट भारत हुँदै बंगलादेशसम्म बिजुली पुर्याउन सहयोग गर्ने आश्वासन दिनुभएको छ, आयोजनाबारे छलफल गर्न नेपालका ऊर्जामन्त्री पनि दिल्ली जाँदैछन्’, परराष्ट्र सचिव मोमेनले भनेका छन् ।

    दुवैतर्फको प्रसारण लाइन निर्माण एकैसाथ अघि बढाउन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिने परराष्ट्र सचिव मोमेनले जानकारी दिएको टीबीएस न्युजले जनाएको छ ।

    बंगलादेशी पक्षले प्रसारण क्षमता र सञ्जाललाई सुदृढ गर्न दुवै देश मिलेर काम गर्न सक्ने प्रस्ताव गरेको छ । ‘भारतीय पक्षले नेपाल–भारतबाट विद्युत् भारत–बंगलादेश सीमासम्म पुर्याउन सहयोग गर्न सक्छौं भन्यो,’ सचिव मोमेनले भने ।