काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन गरिएको छ ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री बनेका छन्। यस्तै माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएको छ ।
विनाविभागीय मन्त्री कृष्ण केसीले भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि हिजो राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । तर उनीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्रीहरुको शपथ ग्रहण आज दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५, माओवादीले ३ तथा जनमत र राप्रपाले १–१ मन्त्रालय पाएका छन् । माओवादीबाट तुलाराम घर्ती सभामुख र राप्रपाबाट मेनुका खाण केसी उपसभामुख निर्वाचित भइसकेका छन् । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । मुख्यमन्त्री गिरीले माघ ५ गते नै विश्वासको मत लिइसकेका छन् ।