• काठमाडौं : राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । बिहिबार हुने सभामुखको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिने÷नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताउनु भएको छ । गएको पुस १० गतेको समझदारी अनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी छन्। यही पृष्ठभूमि बनाउन कांग्रेसले गएको २६ गतो प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो ।

    अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन । हिजो ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोज्नु भएको छ । यसले एमालेमा शंसय उत्पन्न भएको छ । सर्वदलीय बैठक अघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।