• काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    ९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।

    प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज बेलुका ५ बजेसम्मको समय दिएका थिए ।

    प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री कार्कीको शपथग्रहणको कार्यक्रम भोलि राखिएको छ । मुख्यमन्त्रीले भोलि नै सानो आकारको मन्त्रीमण्डल गठन गर्न प्रयास गरिरहेको बताइएको छ । हाल कायम रहेको १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने कार्कीको प्रतिबद्धता छ । सरकारमा माओवादी केन्द्र र राप्रपा पनि जाने निश्चित छ । राप्रप संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारलाई समर्थन गरिसकेको हुनाले आफूहरु पनि मन्त्रीमण्डलमा सामेल हुने बताए । १ जना सांसद रहेको जसपाले मन्त्री पाउने नपाउने अनिश्चित छ ।