• काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच आज भेट भएको हो।

    आजको भेटमा समसमायिक राजनीतिक अवस्थासँगै नयाँ गठबन्धन सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको जनाइएको छ।

    पछिल्लो समय ओली र प्रचण्डबिच बारम्बार भेट भइरहेको छ। भेटका क्रममा सरकारलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुँदै आएको छ।

    सत्ता साँझेदार दलले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम ल्‍याउने तयारी छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । साथै पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ ।

    २६ गते नै सभामुखको निर्वाचनको सूचना जारी भएको अवस्थामा यही महिनाभित्र संसदले सभामुख पाउँछ । २७ गते पृथ्वी जयन्ती छ । यस दिन सार्वजनिक बिदा दिनुपर्ने सत्ता साझेदार दल राप्रपाको माग छ । २७ गते सार्वजनिक बिदा दिइएमा २८ गते सभामुखका लागि उम्मेदवारी दर्ता र २९ गते निर्वाचन हुनेछ ।

    २५ पुसबाट प्रतिनिधि सभाको बैठक सुरु हुने भएकाले सभामुखको निर्वाचनका लागि माघ १० गतेसम्मको समय छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।