• काठमाडौं : तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा हिजोदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ ।

    उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

    उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन सुरु गरिएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए । उनका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ ।