• काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् ।

    आज भएको चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।

    भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।

    २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद अहिलेसम्म खाली रहेको थियो । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ।