काठमाडौं : पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए ।
अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको उनले बताए ।। सांगठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको र नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई शक्तिको चरम दुरुपयोग गरी शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको पाँच बुदे आरोप गौतममाथि लगाइएको छ ।
आज सतुंगलको एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।