• काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताएका छन् ।

    आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताएका हुन् ।

    उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुङ्गोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताए । उनले महाअभियोगलाई टुङ्गोमा पुर्‍याउका लागि अझै समय बाँकी रहेको बताए । उनले भने, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई बिस्तारै एउटा टुङ्गोमा पुर्‍याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।’

    पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।