• काठमाण्डौ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रमाथि बोझ थप्ने र ‘पपुलिस्ट’ कार्यक्रम नल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गरेका छन् ।

    यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत भएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै उनले कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रित नभएको बताए ।

    उनले औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको आक्षेप समेत लगाएका छन् ।

    सरकारले अर्थतन्त्रमा ध्यान दिएको छैन भनेर भ्रम छरेको, मूल्यवृद्धि अकाशिएको, आपूर्ति श्रृङ्खला समस्यामा परेको, सङ्कटापन्न खाद्य सङ्कटका बारेमा चासो नदिएको भन्दै पौडेलले विदेशी विनिमय जोखिममा पुगेको बताए ।

    सार्वजनिक विद्यालयको पूर्वाधारको विकास, प्राविधिक शिक्षाको कार्यक्रम, कालीगण्डकी तिनाउ डाइभर्सन परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनललगायतका कार्यक्रम छाडिएको टिप्पणी गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको बताए ।

    उनले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषयलाई हावादारी भएको समेत बताए ।