• सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इटहरीको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । उपमेयरमा भने नेकपा (एमाले) की उम्मेदवार सङ्गीता कुमारी चौधरी विजयी भइन् ।

    मेयरमा एमालेका यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५ हजार १८ मतान्तरले पराजित गरे । निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएका जानकारी अनुसार कांग्रेसका उम्मेदवार पौडेल ३१ हजार ४९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८ हजार ३१ मत पाए।

    उपमेयरमा विजयी भएकी एमालेकी चौधरीले ३२ हजार ४ सय ३६ मत पाइन्। उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केशव कुमार विष्टले १८ हजार ३१ मत ल्याए । इटहरीमा ७३ हजार ८ सय २३ मत खसेको थियो ।

    २० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा कांग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    २०७४ को चुनावमा १२ वडा जितेर उपमहानगरमा बहुमत बनाएको कांग्रेसले यो पटक भने ५ वटा मात्रै वडा जितेको छ । एमालेले भने यो पटक उपमेयर र वडामा बहुमत जित हासिल गरेको छ ।